
गाजा सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न नेतान्याहुलाई मुक्त इजरायली बन्धकको आग्रह
प्यालेस्टिनी इस्लामिक लडाकू समूह ( हमास ) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
मुक्त बन्धकहरूको ५६ जनाको समूहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पत्र पोस्ट गर्दै प्यालेस्टिनी भूमिमा अझै बन्धक अवस्थामा रहेकाहरूको रिहाइ सुनिश्चित गर्न आग्रह गरेका हुन् । उनीहरूले आफूहरूले बन्धक रहँदा भयानक अवस्थाको अनुभव गरेको भन्दै युद्धमा फर्कनु भनेको बाँकी रहेकाहरूको जीवनको खतरा रहेको बताएका छन् ।
गाजा युद्धविरामको पहिलो चरण ६ हप्तापछि यही मार्च १ मा सकिएको थियो । त्यसपछि शान्तिवार्ता शुरू भएको छैन । इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश हुनुपर्नेमा जोड दिएको छ ।
सन् २०२३ मा इजरायलमा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २ सय ५१ मध्ये ५८ जना गाजामै रहेका छन् । ५८ मध्ये ३४ जनाको ज्यान गएको इजरायली सेनाले जनाएको छ ।