
विश्व पारा एथ्लेटिक्समा सहभागी हुने नेपाली टोलीको बिदाइ
काठमाण्डौ । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज बिदाइ गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरमा रहेको कार्यालयमा उनीहरूको बिदाइ गर्नुभएको हो । मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सयर४ सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।
अफिसियलमा राखेपकी सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पारा एथ्लेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो ।
नेपाल गएको फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको हो ।