
बङ्गलादेशका पूर्वकप्तान मुस्फिकरको सन्न्यास घोषणा
काठमाण्डौ । बङ्गलादेश क्रिकेट टिमका पूर्वकप्तान मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
३७ वर्षीय विकेटकिपर ब्याटर मुस्फिकरले तत्काल लागू हुनेगरी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका हुन् । मुस्फिकरले सन् २००६ मा न्युजिल्यान्डसँगको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनी बङ्गलादेशका लागि सबैभन्दा धेरै ओडीआई खेल्ने खेलाडीसमेत हुन् । उनले २७४ खेलमा ९ शतकसहित ७ हजार ७९५ रन बनाएका छन् । त्यस्तै विकेटकिपरको रूपमा २४३ क्याच तथा ५६ स्टम्पिङ गरेका छन् । उनले सन् २०११ देखि २०१४ सम्म बङ्गलादेश क्रिकेट टिमको कप्तानी गरेका थिए ।
पाकिस्तानमा अहिले भइरहेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र न्युजिल्यान्डसँग पराजित हुँदै बङ्गलादेश समूह चरणबाटै बाहिरिएको थियो ।