
चारदेशीय टी-२० शृङ्खला खेल्न युगान्डा जाने नेपाली महिला टोलीको बिदाइ
काठमाण्डौ । युगान्डामा हुने ‘वुमन्स डे’ कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्पी लामा लगायतका प्रतिनिधि सहभागी थिए । नेपाली टोलीकी कप्तान इन्दु बर्माले राम्रो क्रिकेट खेलेर फर्किने प्रतिक्रिया दिएकी छिन् ।
यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म हुने चारदेशीय प्रतियोगितामा नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी छिन् । डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
प्रतियोगिताका लागि नेपाली टोली घोषणा भइसकेको छ । नेपालले आउँदो शनिबार नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।