
सन् २०५० सम्ममा विश्वभरका आधाभन्दा धेरै वयस्कमा मोटोपना वा बढी तौलको समस्या हुने
एजेन्सी । सन् २०५० सम्ममा विश्वभरका ५० प्रतिशतभन्दा धेरै वयस्क तथा एक तिहाइ बालबालिका, किशोरकिशोरी र युवा वयस्कहरूमा मोटोपना वा बढी तौलको समस्या देखिने एक अध्ययनले खुलासा गरेको छ । २ सय वटाभन्दा बढी देश समेटिएको विश्वव्यापी तथ्याङ्कको नयाँ अध्ययनमा यो निष्कर्ष आएको ल्यासेन्ट जर्नललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले यस दशकको बाँकी अवधिमा विशेषगरी कम आय भएका देशहरूमा मोटोपनको स्तर द्रुत गतिमा बढ्ने चेतावनी दिएका छन् । तर सरकारले तत्काल कदम चालेमा ‘गहिरो त्रासदी’ अवस्था आउने कुरा रोक्न अझै पर्याप्त समय भएको अध्ययनमा उल्लेख छ ।
सन् २०२१ सम्म २५ वर्ष वा योभन्दा माथिका झन्डै आधा विश्वव्यापी वयस्क जनसङ्ख्या १ अर्ब पुरुष र १ अर्ब ११ करोड महिलामा बढी तौल वा मोटोपना थियो । यी अवस्थाहरूसँग बाँचिरहेका पुरुष र महिला दुवैको अनुपात सन् १९९० यता दोब्बर भएको छ ।
यही अवस्था रहेमा सन् २०५० सम्ममा चीनमा ६२ करोड ७ लाख, भारतमा ४५ करोड र अमेरिकामा २१ करोड ४ लाख जनसङ्ख्यामा अधिक तौल र मोटोपनाको समस्या देखिने अध्ययनमा उल्लेख छ । नाइजेरियामा भने मोटोपन र बढी तौल हुने वयस्कको सङ्ख्या सन् २०५० मा तीन गुणाभन्दा धेरैले बढेर १४ करोड १० लाख पुग्ने अनुमान छ । सन् २०२१ मा नाइजेरियामा यो सङ्ख्या ३ करोड ६६ लाख छ ।
विशेषगरी युवाहरूमा अहिले मोटोपनाको दरमा वृद्धि भइरहेको छ । सन् १९९० र २०२१ को बीचमा बालबालिका र युवा किशोरहरू र २५ वर्षमुनिका साना वयस्कहरूमा मोटोपनाको दर दोब्बरभन्दा बढी भएको छ ।
अध्ययनमा सहभागी अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटका डा। जेसिका केरले तथ्याङ्कहरूले आउँदा वर्षहरूमा स्वास्थ्य सेवा प्रणालीका लागि वास्तविक चुनौती प्रस्तुत गर्ने बताउनुभयो ।