सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आज हल्का वर्षा भइरहेको छ ।

डडेलधुरा, डोटीलगायतका केही जिल्लामा बिहानदेखि हल्का वर्षा भइरहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

काठमाण्डौ उपत्यकासहित तराई मधेश र बागमती प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको छ । यसैबीच मौसम सुधार भएसँगै तापक्रम बढ्न थालेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।