
काठमाण्डौ महानगरका कर्मचारी र शिक्षकको तलब ३ महिनादेखि रोकियो
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका ३ हजार ५ सय जनाभन्दा धेरै कर्मचारी र ठूलो सङ्ख्याको शिक्षकको तलब मङ्सिर महिनायता रोकिएको छ । पुस दोस्रो हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका कारण तलब-भत्तालगायत ७० करोड रुपैयाँ बराबरको भुक्तानी रोकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यु टावर’ को नक्शा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान सुरु गरेपछि सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिदामा बस्नुभएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
सङ्घीय सरकारले अर्को कार्यकारी अधिकृत नपठाउनुका साथै महानगरका वरिष्ठ अधिकृतलाई आर्थिक अधिकारसमेत नदिँदा समस्या आएको सचिवालयको दाबी छ । यही विषयमा मेयर शाहले शुक्रवार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै फेसकुबमा स्टाटस लेख्नुभएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भने सङ्घले खटाएका कर्मचारीलाई महानगरले नै बिदामा राखेका कारण अर्को कर्मचारी खटाउन नसकिएको बताउनुहुन्छ ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन पठाउन महानगरलाई पत्र पठाएको र प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने जनाएको छ । नेपाल सरकारका पूर्वसचिव शङ्कर पाण्डेको नेतृत्वमा रहेको समितिले प्रतिवेदन बुझाएको छैन ।