
मनाङ, मुस्ताङ र हुम्लामा एचपीभी खोप अभियान आजदेखि पुन:सुरु, डोल्पामा फागुन २२ गते सञ्चालन हुने
काठमाण्डौ । मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ । यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।
मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा. अभियान गौतमले पछिल्लो तीन दिन मौसम बदली भएर ती जिल्लाका केही ठाउँमा हिमपात भए पनि खोप अभियानलाई प्रभाव नपर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले गएको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् ।अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाइसकेका छन् ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको प्रभावकारिता ९५ देखि शतप्रतिशत रहेको भनेर अध्ययनले देखाएको बताउनुभएको छ । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ ।