
अन्त्यतिर परेको पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्यो
काठमाण्डौ । आजदेखि नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात् आजदेखि प्रि–मनसुन शुरु भएको हो । प्रि–मनसुन अवधि मनसुन शुरु नहुञ्जेल रहन्छ ।
नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । यो समयमा तापक्रम बढ्दै जान्छ र वातावरणमा आद्ररता थपिँदै जान्छ । यस अवधिमा वर्षा गराउने प्रमुख प्रणालीहरु स्थानीय वाष्पीकरण, पश्चिमी वायु र बङ्गालको खाडीबाट आउने मनसुन पूर्वको चक्रवात हुन् ।
प्रि–मनसुनमा हुने वर्षा मुख्यतया दिउँसो र बलुकीपख हुन्छ । प्रि–मुनसुनमा वर्षभरी हुने वर्षाको १० प्रतिशत अर्थात् एक सय ८० मिलिमिटरसम्म वर्षा हुन्छ । यस अवधिमा गर्जनसहितको हावाहुरी, चट्याङ पनि पनि पर्छ । यस्तै असिनाको जोखिम पनि यही अवधिमा धेरै हुन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का अनुसार प्रि–मनसुनमा हुने वर्षा मकै, कोदो र तरकारीका लागि महत्त्वपूर्ण हुन्छ । यस वर्षको हिउँद यामका अन्तिम दुई दिन भएको वर्षाले हिउँदे वर्षालाई केही सुधार गरेको छ ।
बुधवारसम्म हिउँदमा हुने औसत ६० मिलिमिटर वर्षाको ११ प्रतिशत वर्षा पनि नभएकोमा अस्ति र हिजो भएको वर्षाले १८ दशमलव तीन प्रतिशत पुर्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति देशको पश्चिमी क्षेत्र र हिजो देशका सबैजसो ठाउँमा पानी र सबैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ ।
आज पनि धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा बर्षा तथा हिमपात भएको छ । पछिल्लो २४ घण्टामा पूर्वी तराई बाहेक सबैजसो ठाउँमा पानी परेको छ । हिमपात र वर्षा भए पनि विशेषगरी किसानहरु खुशी भएका छन् ।
यस्तै वर्षा र हिमपातले डढेलोको जोखिम तत्कालका लागि घटाउनुसँगै वायु प्रदुषण पनि घटाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातीदेखि मौसममा क्रमिक सुधार भइ भोलिसम्ममा धेरै ठाउँको मौसम सफा हुनेछ ।