२९औँ नेल्टा अन्तराष्ट्रिय सम्मेलनको दोस्रो दिनः शिक्षामा प्रविधीको प्रयोगबारे विशेष छलफल (फोटोसहित)

सुप्रिया राई, ललितपुर । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा)ले २९औँ अन्तराष्ट्रिय सम्मेलनको दोस्रो दिन आज शिक्षामा प्रविधीको प्रयोगबारे विशेष छलफल भएको छ ।

आजको मूख्य वक्ता प्राध्यापक डा. जयराज आचार्यले मानवतावादी “अंग्रेजी भाषा शिक्षणको लागि प्रविधिको रणनीतिक प्रयोग” विषयमा प्रस्तुति दिनुभयो । एआइ अर्थात कृत्रिम बुद्धिमत्ताको प्रयोगले दैनिक जीवनलाई सहज बनाइरहेको अवस्थामा यसको प्रभाव शिक्षामा पनि पर्दै गएको उहाँको धारणा छ । शिक्षाको महत्व केवल मानवीय अन्तक्र्रिया र भावनात्मक आदान–प्रदानमा हुने उहाँले बताउनुभयो ।

प्राध्यापक डा. आचार्यले वर्तमान परिवेशमा एआईलाई मास्टरको रूपमा नभएर उपकरणको रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । यसले जस्तोसुकै जटिल प्रश्न समाधान गरेपनि मानवीय संवेग र आत्मियता भने प्रदान गर्न नसक्ने उहाँको तर्क छ । एक आमाले आफ्नो बच्चासँग जति अन्तरक्रिया गर्छिन् शिक्षकले आफ्ना विद्यार्थीहरूसँग त्यति नै अन्तरक्रिया गर्नुपर्नेमा प्राध्यापक डा. जयराज आचार्यले जोड दिनुभयो ।

यस्तै, एआइको क्षेत्रमा काम गर्दै आउनुभएका भारतका प्राध्यापक डा. विश्वजोय चाटर्जीले विद्यार्थीहरुलाई कसरी सरल तरिकाले अङ्ग्रेजी भाषा सिकाउन सकिन्छ भनेर प्रस्तुती दिनुभयो । अङ्ग्रेजी भाषा शिक्षण र लेखनको लागि एआई आधारित एपहरुको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

एआइको बढ्दो प्रयोगले रोजगारी गुम्ने नभएर यसले रोजगारीको अनेक वातावरण सिर्जना हुँदै जाने उहाँको दाबी छ । आधूनीक समयका विद्यार्थीहरुलाई समयकै माग अनुसार पठनपाठन गराउनुपर्ने तथा योसंग सहकार्य गरेर शिक्षकहरुले कक्षाकोठामा शैक्षिक सामग्री निमार्ण गर्न सक्ने प्राध्यापक डा. विश्वजोय चाटर्जीले धारणा राख्नुभयो ।

कोरिया टिसोलकी अध्यक्ष डा. लिन्ड्से एन् हेर्रोनले अंग्रेजी भाषामार्फत शिक्षकहरुले विश्वमा ग्लोबल सिटिजनहरुलाई शिक्षित बनाइरहेको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूको भावनात्मक विकास, जिज्ञासा, र विविधताको मूल्यांकन क्षमतालाई बढाउन कक्षामा विभिन्न समूहगत गतिविधिहरू सञ्चालन गर्न आवश्यक छ, जसले उनीहरूका अनुभवलाई महत्त्व दिने मात्र होइन, अन्यका दृष्टिकोणको सम्मान गर्न समेत सहयोग गर्दछ ।

त्यसैगरी, सहायक प्राध्यापक एवम् नेल्टाका महासचिवले सञ्चालन गर्नुभएको “नेपालमा शिक्षक शिक्षाः प्रतिज्ञा र वितरण” विषयक समूहगत छलफलमा नेपालको शिक्षा क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान दिदैँ आउनुभएका सुदम प्रसाद गौतम, सुरेन्द्र कुमार घिमिरे र पवित्रा लिम्बूले गहन अन्र्तक्रिया गर्नुभयो । शिक्षकहरुलाई आवश्यक तालिम दिएर योग्य र क्षमतावान् बनाउनु अहिलेको आवश्यकता भएको तथा पूरानो प्रणालीले अपेक्षाकृत नतिजा नदिने भएकाले शिक्षक तालिम समयसापेक्षित हुनुपर्ने उहाँहरुको धारणा छ ।

नेपालको शिक्षापद्धति विश्वस्तरको होस् भन्ने चाहना राख्ने हो भने शिक्षक तालिमको पुनर्संरचना गर्नुपर्ने, कक्षाकोठा समावेशी र समतामूलक हुनुपर्ने, बालअधिकार, मानवअधिकार तथा सामाजिक विविधता तथा न्यायको सम्मान गर्नुपर्नेलगायतका विषयमा उहाँहरुले जोड दिनुभयो ।

दिनको दोस्रो मूख्य वक्ताहरु, नेल्टा अध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली र पूर्व नेल्टा अध्यक्ष प्रा. डा. गंगा राम गौतमले आफ्नो सिकाइ यात्रा, नयाँ भाषा सिक्ने तरिका, अनुकूलन हुने प्रक्रिया र आफ्ना अनुभवहरु सुनाउनुभयो । शिक्षकहरूलाई सिकाइको स्पष्ट कार्यसूची तय गर्न सुझाव दिँदै, पूराना सोचाइहरूको बन्दी नबन्न प्रा. डा. गंगा राम गौतमले आग्रह गर्नुभयो ।

पुरानो ज्ञानको सम्मान गर्दै नयाँ प्रवृत्तिहरू अनुसरण गर्नुपर्नेमा उहाँ दुवैजनाले जोड दिनुभयो । समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै, उहाँहरूले शिक्षण विधिहरूलाई आधुनिक प्रविधि र नवीन दृष्टिकोणहरूसँग समायोजन गर्दै अघि बढ्नुपर्ने प्रा. डा. लक्ष्मण ज्ञवालीले सन्देश दिनुभयो ।

यस बाहेक समानान्तररुपमा ७५ वटा प्रस्तुतीकरण पनि भएका थिए, जसमा धेरै स्वदेश तथा विदेशका अङ्ग्रेजी भाषा शिक्षकहरुको सहभागीता थियो । त्यस्तै सम्मेलनमा लक्ष्मी सनराइज ब्याङ्कका सास्वत कार्कीले वित्तीय साक्षरताको महत्वका बारेमा सहभागीहरुलाई जानकारी दिर्नुभयो । सम्मेलनको अन्त्यमा नवराज न्यौपाने, नवराज पराजुली, प्राध्यापक डा. विष्णु सिंह राई र मोमिला जोशीले कविता प्रस्तुत गर्नुभयो । साथै, विद्यार्थीहरुले सांस्कृतिक नृत्यमार्फत मनोरञ्जनसमेत प्रदान गरेका थिए ।