
२९औँ नेल्टा सम्मेलन सुरु, उपप्रधानमन्त्री प्रकाशमान सिंहद्वारा सुभारम्भ
सुप्रिया राई, ललितपुर । २९औँ नेल्टा अन्तराष्ट्रिय सम्मेलन आजबाट हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलमा सुरु भएको छ । कार्यक्रमको सुभारम्भ प्रमुख अतिथी एवम् उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले शैक्षिक नीति सुधारको वर्तमान सन्दर्भमा नेल्टालाई अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षा सम्बन्धमा अर्थपुर्ण अन्र्तदृष्टिहरू योगदान गर्न अनुरोध गर्नुभयो । साथै उहाँले नयाँ शैक्षिक नीतिहरूको निर्माणमा नेल्टाको विशेषज्ञतालाई उपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
लिटिल एन्जल्स स्कूलका प्रधानमन्त्री मुकुन्द शर्माले नेल्टाको सम्मेलन दोस्रो पटक आफ्नो प्राङ्गनमा गर्न पाउँदा हर्षित भएको बताउनुभयो । शिक्षासंग सम्बन्धित हरेक कार्यक्रममा साथ र सहयोग रहने उहाँको भनाइ छ ।
नेल्टा अध्यक्ष लक्ष्मण ज्ञवालीका अनुसार स्थापनाकालदेखि नै नेल्टाले सरकारसंग मिलेर अंग्रेजी भाषा शिक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यतिमात्रै नभएर नेल्टाले नेपालको हिमाली भेगमा अंग्रेजी भाषा शिक्षाको पहुँच पुर्याउन स्याटलाइट सेन्टरको स्थापना गर्ने योजना बनाएको बताउनुभयो ।
नेल्टाका सल्लाहाकार एवम् पूर्वाध्यक्ष हेमन्तराज दाहालले कक्षा संचालन गर्ने पद्धतिमा परिवर्तन ल्याउन जोड दिनुभयो । आधूनिकताको विकासले विभिन्न एआइ मोडलहरु भित्रिएकोप्रति इंगित गर्दै विद्यार्थीहरुलाई थोरै स्रोत र समयमा धेरै कुरा सिकाउनु वर्तमान समयको माग र चुनौती दुवै भएको बताउनुभयो ।
कार्यक्रममा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले नेल्टा सम्मेलनलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । दूतावासले छात्रवृत्तिमार्फत पनि शैक्षिक कार्यक्रममा निरन्तर सहयोग पुर्याउने उहाँको प्रतिवद्धता छ ।
शिव कुमार सापकोटाले सम्मेलनको आयोजना गर्नु नै अङ्ग्रेजी भाषा शिक्षकहरुलाई दक्ष तथा तलिमप्राप्त बनाउनु रहेको बताउनुभयो ।
त्यस्तै, मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले नेल्टासंग सहकार्य गरेर शिक्षाको बाटोमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि दुइ संस्थको समन्वयमा राम्रा काम हुनेमा विश्वस्त रहेको बताउँदै शुभकामनासमेत दिनुभयो ।
नेल्टाका सल्लाहाकार एवम् पूर्वाध्यक्ष मिरा श्रेष्ठले कार्यक्रम प्रायोजनार्थ सहयोग गर्ने सम्पूर्ण संस्था अमेरिकी दूतावास, रिलो, ब्रिटिस काउन्सिल, नेपाल प्रर्यटन बोर्ड र विश्व विद्यालय अनुदान आयोग (यूजीसी)लाई धन्यवाद ज्ञापन गर्नुभयो ।
दोस्रो सत्रमा अमेरिकी प्राध्यापक डा. दयामुद्रा एयान डेन्नेही, जापनका प्राध्यापक डा. रोर्बट स्ट्राउडले कक्षा कोठामा एआइको बढ्दो प्रयोगका बारेमा प्रस्तुतीका दिनुभयो । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, भाषा शिक्षा आयोगका अध्यक्ष गोपाल ठाकूर, त्रिभुवन विश्वविद्यालयको पूर्व उपकुलपति प्रा. डा. तीर्थ राज खनियाँलगायत अन्य विशिष्ट व्यक्ति एवम् विदेशी पाहुनाको सहिभागीता रहेको थियो ।
त्यसैगरी डा. लव देव अवस्थी, मोतीकला सुब्बा, डा. प्रेम प्रसाद पौड्याल र डा. भीम गौतमले नेपालको भाषिक विविधताको बहुभाषिक व्यवस्थापनका बारेमा समूहगत छलफलसमेत गर्नुभयो । कार्यक्रमको अन्त्यमा विद्यार्थी र शिक्षकहरुद्वारा सांसकृतिक झाँकीसहितको वृहत प्रस्तुती दिइएको थियो ।