इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाण्डौ। नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ ।

इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको विजेता भारतको मानेभन्ज्याङ फुटबल क्लब र भारतकै मदर टेरेसा फुटबल क्लबले पनि प्रतिस्पर्धा गर्दैछन् ।

ओएसिस क्लब इलामको आयोजनामा हुने प्रतियोगितामा आयोजकसँगै पदमा सपोर्टिङ क्लब, ओखलढुंगा र बागमती युथ क्लब, सर्लाहीले पनि भाग लिनेछन् । प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कुल ५१ लाख ३७ हजार अनुमानित बजेट रहेको प्रतियोगितालाई यशोदा फुड्सको करेन्ट चाउचाउले प्रायोजन गरेको छ ।