काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्षिक मेला आयोजना गर्दै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह परिसरमा ‘काठमाण्डौ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।

मेलाका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको बताउनुभयो ।

कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र सङ्घ-संस्थाहरूसँग सहकार्य हुने बताउँदै उहाँले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आउँदा कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको जानकारी दिनुभयो ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् ।

मेला आयोजनाका लागि महानगरपालिकाको शहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नेछन् । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन् ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ र पाँच सय २४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार नौ सय ३४ गरी दुई लाख ७२ हजार दुई ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ ।