महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते सुरु भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको हो । तर श्रद्धालुहरू मेलामा पुग्ने क्रम अझै रोकिएको छैन ।

महाकुम्भको अवधिभर ६६ करोड जनाभन्दा धेरै मानिसले गङ्गामा स्नान गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो सङ्ख्या अमेरिकाको जनसङ्ख्याको तुलनामा झन्डै दोब्बर बढी हो । यस्तै गङ्गामा डुबुल्की लगाउनेको यो सङ्ख्या १ सय ९३ वटा देशको जनसङ्ख्याभन्दा धेरै हो । महाकुम्भको अन्तिम दिन हिजो मात्रै डेढ करोड जनाभन्दा धेरैले स्नान गरेका थिए । उत्तर प्रदेश सरकारले मेलामा ४० करोड जना मानिस सहभागी हुने अनुमान गरेको थियो ।

कुम्भमेलालाई विश्वकै सबैभन्दा धेरै मानिस जमघट हुने पर्व मानिन्छ । संयुक्त राष्ट्रसङ्घले यो मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’ का रूपमा उल्लेख गरेको छ ।

कुम्भमेला भारतका ४ वटा शहरमा हरेक १२ वर्षमा मनाइने गरिन्छ । दुइटा कुम्भमेलाको बीचमा अर्धकुम्भमेला पनि आयोजना गरिन्छ । चारवटै शहरमा कुम्भमेलाको आयोजना हुने भए पनि प्रयागराजमा आयोजित हुनेलाई सबैभन्दा महाकुम्भ मानिन्छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यति ठूलो मेलाको आयोजना गर्नु सहज नभएको भन्दै केही कमीकमजोरी भएमा माफी दिन आग्रह गर्नुभएको छ ।