जापानमा डढेलो वस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

एजेन्सी । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ । स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले हिजो साँझ भएको आगलागीलाई ‘ठुलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर ९१,५०० एकड० जमिन जलेर नष्ट भएको बताउनुभएको छ ।

आगलागीको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो । फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ’तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ । उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताउनुभयो ।