
३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन
काठमाण्डौ । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।
कार्यालयले आज सूचना निकालेर नागरिक बचतपत्र-२०८६ र वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्कासनसम्बन्धी जानकारी दिएको हो । ५ वर्ष अवधिका नागरिक बचतपत्रमा ७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
भोलिदेखि आउँदो चैत १५ गतेसम्म बचतपत्रको बिक्री खुला रहने छ । निष्कासित रकम बराबरको आवेदन परेमा तोकिएको अवधिभन्दा पहिले नै बन्द गर्ने सूचनामा उल्लेख छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुनेछ ।
घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने कार्यालयले जनाएको छ । पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउनेछन् । बचतपत्रमा गरिने लगानीबारे सर्वसाधारणलाई जानकारी नहुँदा निष्कासन गरिएको रकमभन्दा कम आवेदन पर्ने गरेका छन् ।
यसअघि कार्यालयले गएको मङ्सिर १२ गतेदेखि निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्र २०८६ (क) मा झन्डै १२ प्रतिशत बराबर मात्रै बचतपत्र खरिदका लागि आवेदन परेको थियो । सहज र सुरक्षित तरिकाले आकर्षक प्रतिफल दिने सरकारी उपकरण बचतपत्रको ब्याजदर अहिले बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिइरहेको ब्याजदरभन्दा २ देखि साढे २ प्रतिशत विन्दुले बढी हो ।
यसमा सरकारले मूलधनको सुनिश्चित गरेको हुँदा सुरक्षित लगानी मानिन्छ । यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने प्रणाली र इन्भेस्टर पोर्टलमार्फत यी बचतपत्रको सहजै कारोबार गर्न सकिन्छ ।