
अमेरिकालाई खनिज दिन युक्रेन सहमत
एजेन्सी । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा हस्ताक्षर गर्न यसै हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउस आइपुग्ने बताउनुभएको छ । अमेरिकासँगको प्रमुख खनिज सम्झौताका शर्तहरू स्वीकार गरेको युक्रेनका एक वरिष्ठ अधिकारीले पनि बताएका बीबीसीले जनाएको छ । केही राम्रा परिमार्जनसहित खनिज सम्झौताका शर्तहरूमा सहमति जनाएको र यसलाई सकारात्मक परिणामका रूपमा लिएको ती अधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका विवरणका अनुसार अमेरिकाले ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी प्राकृतिक स्रोत साधनमा आफ्नो अधिकार दाबी गरेको छ । त्यसको बदलामा अमेरिकाले युद्धग्रस्त युक्रेनको प्रमुख चासो रहेको सुरक्षा ग्यारेन्टी भने सुनिश्चितता गरेको छैन । अमेरिका केही अप्ठ्यारा मागहरूबाट पछि हटेको र सम्झौताका कतिपय विस्तृत विवरणहरूमा छलफल हुन बाँकी रहेको खबरमा उल्लेख छ ।
युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको आँकलन छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसको कब्जामा छ ।