प्रधानमन्त्री ओलीले प्रकृति लम्सालको बुबासँग टेलिफोनमा कुराकानी

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्व विद्यालयको छात्राबासा मृत भेटिएकी प्रकृति लम्सालका आमा(बुवासँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत प्रकृतिका परिवारलाई भेट्न जानु भएको बेला प्रधानमन्त्री ओलीले प्रकृतिका आमा–बुबासँग फोनमा कुरा गर्नुभएको हो।

नेता बस्नेतको फोनबाट कुरा गर्दै प्रधानमन्त्री ओलीले कृतिका आमा(बुबालाई सान्त्वना दिँदै घटनाबाट आफूलाई निकै दुःख लागेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सो घटनाको निष्पक्ष छानबिनको लागि सरकारको तर्फबाट पनि अनुरोध गरिएको र कारबाहीको आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भइसकेको कुरा फर्काउन सकिँदैन, नहुने कुरा भइसक्यो।’ प्रकृति लम्सालका परिवारलाई भेट्न पुगेका नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री ओलीसँग टेलिफोनमा संवादको वातावरण मिलाई दिनुभएको हो। भैरहवा स्थिति उनीहरूकै घरमा पुगेर शोकमा रहेका प्रकृतिका आमा–बाबु तथा परिवारका सदस्यसँग नेता बस्नेतले भेट गर्नुभएको हो । प्रकृतिकी आमा सरिता शर्मा लम्साल र बुबा सुनिल लम्सालसँग भेटेर बस्नेतले घटनाप्रति दुःख व्यक्त गर्नुभयो।

टेलिफोन वार्तामा प्रकृतिका बुबा सुनिलले आफूहरू सम्हालिन प्रयत्न गरिरहेको प्रधानमन्त्रीलाई जानकारी दिनुभयो । सो घटनाको बारेमा अनुसन्धान भइरहेको भन्ने जानकारी आएको लम्सालले प्रधानमन्त्रीलाई बताउनुभयो। ‘पोष्टमार्टम रिपोर्ट पनि आयो, फरेन्सिक रिपोर्ट के भयो अपडेट भइसकेको छैन, विभिन्न चारवटा विषयमा मुद्दा दर्ता हुने भन्ने आएको छ’, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले सिङ्गो देश लम्सालको साथमा रहेको आश्वासन दिनुभयो। भइसकेको कुरा फर्काउन सकिँदैन, नहुनु पर्ने कुरा भयो, छानबिन भइरहेको निष्पक्ष छानबिन हुने विश्वास लिएको उहाँले बातउनुभयो।

लम्सालले आफ्नो छोरीको ज्यान गइसकेको बताउँदै सो विश्व विद्यालयमा धेरै नेपालीका छोरा–छोरी पढिरहेकाले उनीहरूले त्यो पीडा भोग्नु नपरोस् भन्ने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले त्यस विषयमा चासो लिएको र त्यस विषयमा सजग रहेको बताउनुभयो।