
मदन भण्डारी कलेजमा हल्ट प्राइज सम्पन्न, ‘आर्टिसीडिभा’ विजेता (फोटोसहित)
सुप्रिया राई, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजद्वारा आयोजित ‘हल्ट प्राइज एट एमबिएसी’ कार्यक्रम आज सम्पन्न भएको छ ।
प्रतियोगितामा कलेजमै अध्ययनरत स्नातक तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिस्पर्धीहरूले प्रविधिको प्रयोगमार्फत स्टार्टअप आइडिया, उद्यमशीलता र नवप्रवर्तनमूलक नवीनतम् विचारहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ‘सेयर्ड फूड’, ‘क्वीक ट्र्याक’, ‘आर्टिसीडिभा’, ‘न्यूट्री क्लाउड’, ‘बिजनेस मन्त्र’ र ‘किनेमा’ गरी ६ वटा टोलीले दीगो विकास लक्ष्य केन्द्रित रही वातावरण, उद्यम, सीप विकास, तथा रैथाने खाना प्रवद्र्धनजस्ता विषयमा आ–आफ्नो आइडिया पिच गरेका थिए ।
प्रतियोगितामा ‘आर्टिसीडिभा’ पहिलो, ‘किनेमा’ दोस्रो, र ‘सेयर्ड फूड’ तेस्रो घोषित भए । पहिलो स्थान हाँसिल गर्न सफल भएको टिमले नगद रु १५,००० सहित प्रमाणपत्र प्राप्त गरेका थिए भने सहभागी सबै टोलीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा रेडियो श्वेत शार्दूललाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
त्यस्तै, डा. विपेन्द्र बस्न्यातले ‘एआई फर इन्टरनेशनल एण्ड स्टार्टअप’ शीर्षकमा विशेष सत्र दिने कार्यक्रम तय भएको छ । उक्त सत्रको समाचार इन्टरनेशनल हल्ट प्राइज फाउण्डेशनको “कम्यूनिटि अचिभमेन्ट अफ द मन्थ” माषिक पत्रिकामा समावेश गरिनेछ । यो कलेजमा हल्ट प्राइज आयोजना गर्नु ठूलो उपलब्धि भएको कार्यक्रम संयोजक एवम् क्याम्पस डिरेक्टर रुकेश पौडेलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि हल्ट प्राइज नेपालकी कन्ट्री संयोजक सुभि काफ्लेले देशभर यस किसिमको उत्साह र तयारी अन्य कलेजहरुमा नदेखेको प्रतिक्रिया दिनुभयो । उहाँले विजेता टोलीलाई हल्ट प्राइजको आगामी यात्राको लागि शुभकामना दिनुभयो । अन्य विशिष्ट अतिथिहरूमा प्राध्यापक एवम् उद्यमी श्री परमेश्वर दाहाल, एनसीआईटीका पूर्व निर्देशक आकृति दास, गुगल प्रमाणित शिक्षाविद् तथा डिजिटल एण्ड बियोन्डका सह–संस्थापक एवं सीईओ सगुन ढुंगाना, तथा हल्ट प्राइजकी नेसनल कम्यूनिटि लिडर गरिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।
कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरूको नयाँ सोच र सिर्जनात्मकतालाई सधैं प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै शैक्षिक र व्यावसायिक उन्नयनका लागि कलेजले निरन्तर प्रयास गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्ना सम्भावनाहरू पहिचान गर्न मद्दत गर्ने र एक नयाँ उद्यमशीलता यात्रा सुरु गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय तारा प्रसाद गौतम (प्रशासनिक) तथा प्रज्वल मान श्रेष्ठ (शैक्षिक), मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपाने, विभिन्न संकायका विभागीय प्रमुखलगायत अन्य पदाधिकारी, शिक्षक, कर्मचारी, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।