
वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त
एजेन्सी । इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति आज चिन्ता व्यक्त गर्नुभएको छ ।
इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन् । एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा भन्नुभयो, “इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लङ्घनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।”
प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागु भएलगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठुलो आक्रमण सुरु गरेको थियो । जेनिन, तुलकारेम र टुबास सहरनजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैँकको आक्रमण विस्तारै विस्तार हुँदै गएको छ ।
हिजो पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्याङ्कर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो । सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो । सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिंसा बढेको छ ।
गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्त्वमाथि सोमबार जोड दिनुभएको छ ।