
सशस्त्रकी इन्स्पेक्टर मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको उजुरी, बनाइयो छानबिन समिति
काठमाण्डौ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले छानबिन समिति बनाएको हो ।
राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति बनाइएको छ । छानबिन समितिले आजैदेखि काम थाल्नेछ । छानबिनका निम्ति समितिका अधिकारी कास्की जाने सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इन्स्पेक्टर महत चार महिनायता सशस्त्र प्रहरीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत थिइन् । उनी शनिबार राति शिक्षालयकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।
महतले २०७२ असोजदेखि सशस्त्र प्रहरी बलको जवानबाट सेवा सुरु गरेकी थिएन् । उनले २०७८ मा सशस्त्र सहायक निरीक्षक पदको खुलातर्फ नाम निकालेकी थिइन् । २०८१ मा उनले निरीक्षकमा नाम निकालेकी थिइन् ।
चार महिनायता निरीक्षकको तालिममा सहभागी महतले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान छ । ती इन्स्पेक्टरविरुद्ध महतका आफन्तले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएका छन् ।