
देशको शान्तिका लागि पद छाड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफु राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनु भएकोछ ।
आफु देश र युक्रेनी जनताका लागि सदैव बलिदानी दिन तयार रहेको भन्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नुभएको छ ।
राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र संयुक्त राज्य अमेरिका दुवैको समर्थन आवश्यक रहेको जानकारी पनि दिनुभयो ।
जेलेन्स्कीले युक्रेनको शान्तिको लागि होस् वा नेटो सदस्यताको लागि होस् खुशीसाथ राष्ट्रपति पद त्याग गर्न तयार रहेको बताउनुभयो । आजदेखि युक्रेनमा युरोपेली देशका नेताहरूको बैठक हुने तय भएको छ । जेलेन्स्कीले युद्ध रोक्नका लागि कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्नु महत्वपूर्ण भएको पनि बताउनुभयो । युक्रेनसँगै युरोपलाई पनि यस्ता वार्तामा समावेश गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।