नेल्टाको अन्तिम तयारी बैठक सम्पन्न, अन्तर्राष्ट्रिय सम्मेलन भव्य बनाउने प्रतिवद्धता

सुप्रिया राई, ललितपुर । नेपाल ईङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसियसन (नेल्टा)ले आज आइतबार ललितपुरको हात्तिबनस्थित लिटिल एन्जल्स स्कूलमा अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारी बैठक सम्पन्न गरेको छ । आगामी फागुन १५, १६ र १७ गते हुने २९औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन आवश्यक पूर्वतयारीबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो ।

नेल्टाका अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवालीका अनुसार २९औं संस्करणमा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका भाषा शिक्षक तथा भाषाविद्हरूबीच अङ्ग्रेजी भाषा शिक्षणका नवीनतम् उपलब्धिहरू आदानप्रदान गरिनेछ ।

आयोजक लिटिल एन्जल्स स्कूलका प्रधानाध्यापक मुकुन्द शर्मा र लिटिल एन्जल्स कलेजका प्रधानाध्यापक डा. मित्र बन्धु पौडेलले सम्मेलनलाई भव्य रूपमा सफल बनाउनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्कूलका प्रधानाध्यापक शर्माले भन्नुभयो, “हामी हाम्रा अतिथिहरूलाई स्वागत गर्न पूर्ण रूपमा तयार छौँ । विद्यालयले केवल स्वागत मात्र होइन, उचित आतिथ्य प्रदान गर्न समेत ध्यान दिनेछ । शिक्षक तथा सदस्यहरू सबै द्रुत रूपमा यस सम्मेलनलाई सफल बनाउन जुट्नेछन् ।”

विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । सहभागी अतिथि तथा सहभागीहरूका लागि सुरक्षित र सहज वातावरण उपलब्ध गराइने विद्यालयले प्रतिवद्धता जनाएको छ ।

उक्त बैठकमा नेल्टाका अध्यक्ष प्राध्यापक डा. लक्ष्मण ज्ञवाली, उपाध्यक्ष डा. भीम गौतम, महासचिव अशोक सापकोटा, निवर्तमान अध्यक्षद्वय हेमन्तराज दाहाल, मोतीकला सुब्बा देवान, विभिन्न आयोजक संस्थाका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनमा अङ्ग्रेजी शिक्षा तथा व्यावहारिक भाषाविज्ञानसम्बन्धी विभिन्न विषयवस्तुमा २० भन्दा बढी देशका १६० भन्दा बढी प्रस्तुतीकरणहरू हुनेछन् । साथै, १ हजारभन्दा बढी सहभागीहरू रहने अनुमान गरिएको छ ।

यस सम्मेलनको जानकारीका लागि नेल्टाले फागुन १३ गते बिहान ११ बजे नेल्टा कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दैछ ।