
चितवन राष्ट्रिय निकुञ्जको खोरमा रहेका बाघ पाल्न खर्च अभाव
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालू आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार रुपैयाँ बजेट निकासा भएको छ । एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार पाँच सय रुपैयाँ खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई वटा बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा समातेको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उहाँले बताउनुभयो । बाघ हिंस्रक बनेमा समातेर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क एक सय २८ वटा बाघ रहेका छन् ।