
हमासले शिरी बिबासको शव फिर्ता नगरेको इजरायलको दाबी
एजेन्सी । इजरायलले हमास लडाकु समूहले शिरी बिबासको शव फिर्ता नगरेको दाबी गरेको छ । हिजो गाजाबाट फर्काइएका ४ जना बन्धकको शवमध्ये शिरी बिबासको अवशेष प्राप्त नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
फरेन्सिक परीक्षणका क्रममा शिरीका २ जना छोरा एरियल र कफिरसहित ८४ वर्षीय ओडेड लिफ्सिट्जको अवशेष पहिचान भएको तर शिरीको शव प्राप्त नभएको इजरायली सुरक्षा बल (आईडीएफ) ले जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा हिजो चार बन्धकको शवलाई रेडक्रसमार्फत इजरायली सेनालाई सुम्पिएको थियो ।
सेनाका प्रवक्ता अविचय अद्राईले हमासले सम्झौता अनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गर्नुपर्ने बताउनुभएको छ । यस्तै आईडीएफले एरियल र कफिरकी आमा शिरी युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।
गाजामा १५ महिनाभन्दा लामो सङ्घर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो ६ हप्ताको प्रथम चरणको एक हिस्साका रूपमा शव हस्तान्तरण भएको हो । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले गाजा युद्धविराम सम्झौताको ‘दुर्भावनापूर्ण’ उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।