
कवि नवराज पराजुलीले २९ औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुति दिने
काठमाण्डौ । साहित्यकार तथा कवि नवराज पराजुलीले २९ औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुति दिनुहुने भएको छ । “मेसिन, ह्यूमानिटी एण्ड ल्याङ्ग्वेजः नेभिगेटिङ द् अनचार्टेड फ्रन्टायर्स इन ईएलटी”, विषयक २९ औँ नेल्टा अन्तर्राष्ट्रिय सम्मेलनमा पराजुली सहित, कवि एवम् प्रोफेससर डा. विष्णु सिं राई र कवि एवम् निवन्धकार मोमिला जोशीले विशेष प्रस्तुति दिनुहुनेछ । यस सम्बन्धमा काव्यसत्रका सहजकर्ता मोतिकला सुब्बा देवानले जानकारी गराउनु भयो ।
सगरमाथाको गहिराइ कवितासंग्रहका लेखक तथा पोयट्री पर्फमरकारुपमा यूवाहरुमाझ लोकप्रिय नवराज पराजुली आफ्नो कविता कन्सर्ट मार्फत कविता प्रस्तुतिलाई रूपान्तरण गर्नका लागि परिचित हुनुहुन्छ ।
त्यसैगरि सम्मेलनको प्रचार प्रसार योजना बारे नेल्टा केन्द्रीय उपाध्यक्ष डाक्टर भीम गौतमको संयोजनमा बिहिबार छलफल कार्यक्रमको आयोजना भयो । उक्त छलफलमा रेडियोका कार्यकारी प्रमुख अमरध्वज लामा, नेल्टा उपाध्यक्ष डा.भीम गौतमलगायत रेडियोका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यहि फागुन १५ देखि १७ गतेसम्म लिटिल एन्जिल्स स्कूल हात्तीबनमा आयोजना हुने २९ औं अन्तर्राष्ट्रिय सम्मेलनमा अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विभिन्न विषयवस्तु र क्षेत्रहरूमा २० भन्दा बढी देशका १ सय ६० भन्दा बढी प्रस्तुतिहरू तथा १ हजार भन्दा बढी सहभागी हुनेछन् ।
यस सम्मेलनको जानकारीका लागि नेल्टाले फागुन १३ गते बिहान ११ बजे नेल्टा कार्यालय महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दैछ ।