
विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन सकेन : यातायातमन्त्री दाहाल
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताउनुभएको छ । आज काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
मन्त्री दाहालले विकास निर्माणका कामहरु अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विकास निर्माणका आयोजनाहरुको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पु¥याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताउनुभयो ।
मन्त्री दाहालले नेपाल ठूलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ति देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताउनुभयो । उहाँले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गर्नुभयो ।
बिहीबारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी लिन पाइनेछ ।