परराष्ट्रमन्त्री राणाद्वारा ओडिशाका उच्च शिक्षामन्त्रीसँग टेलिफोनमा कुराकानी

काठमाण्डौ । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिशाका उच्च शिक्षामन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ ।

मन्त्री राणाले ओडिशाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको हो ।

फोनवार्ताका क्रममा भारतीय मन्त्री सुरजले घटनालाई ओडिशा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।

यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वय गरिरहेका छन् । कलेजले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक रूपमा माफी माग्नुका साथै विद्यार्थीहरूलाई होस्टलमा फर्कन अपील गरिसकेको छ भने नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्ने कर्मचारीहरूलाई बर्खास्त गरी कारबाही गरेको छ ।