
स्याङ्जामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन
स्याङ्जा । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा नेपालकै पहिलो नव ग्रह मन्दिरको उद्घाटन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले अर्जुनचौपारी गाउँपालिका नेपालको नयाँ धार्मिक गन्तव्य बनेको बताउँदै मन्दिरको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिरको उद्घाटन गर्दै मन्त्री पाण्डेले अर्जुनचौपारी धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य स्थल बनेको बताउनुभयो ।
अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ जलबराह धार्मिक वनमा निर्माण गरिएको उक्त मन्दिरमा आजबाट धार्मिक अनुष्ठान, गीताज्ञान महायज्ञ पनि शुभारम्भ भएको छ । महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले नवग्रह मन्दिर करिब एक सय ५७ रोपनीमा फैलिएको जानकारी दिनुभयो ।
प्रदेश सरकारको विशेष अनुदान रकम ४० लाख रुपैयाँ, गाउँपालिकाको १९ लाख र प्रधानमन्त्री स्वरोजगारबाट श्रम गरि मन्दिर सम्पन्न भएको हो ।