
राससले पाठक र दर्शकको मन जित्न सकोस् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले सत्यतथ्य समाचार सम्प्रेषण गरेर आम पाठक, दर्शक र स्रोताको मन जित्नुपर्ने बताउनुभएको छ ।
राससको ६४औँ वार्षिकोत्सवका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपतिले राज्यको एकमात्र आधिकारिक सामाचार एजेन्सी भएकाले देशविदेशमा देशलाई चिनाउने गरी राससले काम गर्नुपर्ने बताउनुभएको छ ।
राससले आफ्नो सेवालाई समयनाकूल परिवर्तन गर्दै राज्यको आधिकारिक समाचारलाई मिडियामार्फत जनतासम्म पुर्याउने र जनताका विचारलाई राज्यसम्म पुर्याउने मुख्य प्रचार साझेदारका रूपमा राससले पहिचान बनाएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, “ देशको एक मात्र समाचार समिति ‘राष्ट्रिय समाचार समिति’को ६४औं बार्षिकोत्सवको अवसरमा हार्दिक बधाई एंव उत्तरोत्तर प्रगतिको कामना गर्दछु । सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आम पाठकको मनमा सदैव विश्वास कायम राख्न राष्ट्रिय समाचार समितिलाई सफलता मिल्नेछ भन्ने मेरो विश्वास छ । हार्दिक शुभकामना । ”