
बाँकेमा वन्यजन्तुबाट क्षति बेहोरेका ३७ परिवारलाई राहत वितरण
बाँके । बाँकेमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति बेहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम बाँकेको एउटा नगरपालिका र ३ वटा गाउँपालिकाका ३७ परिवारलाई राहत स्वरूप प्रदान गरिएको हो ।
राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका १, बैजनाथका १ र कोहलपुर नगरपालिकाका २ परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले २ वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ३६ पशुधन पीडितलाई ९ लाख १२ हजार ५ सय र एक मानवीय पीडितलाई १० लाख गरी १९ लाख १२ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो ।
यसअघि निकुञ्जमार्फत सङ्घीय सरकारले राहत उपलब्ध गराउँदै आएकामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउन थालेको हो ।
क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ । निर्देशिका अनुसार भैँसी, राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनका आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने व्यवस्था छ ।