केआईआईटी विश्वविद्यालयले फर्कन अपील गरे पनि नेपाली विद्यार्थीलाई सुरक्षाको चिन्ता

काठमाण्डौ । भारतको ओडिशामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन अपील गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन् ।

नेपाली विद्यार्थीको ज्यान गएको घटनापछि आफूहरू भारतीय पक्षबाट असुरक्षित महसूस भएको उनीहरूले बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीहरू ओडिशा जाँदैछन् ।

नेपाली विद्यार्थी मृत भेटिएको घटनामा प्रहरीले १ जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ । यसैबीच अखिल भारतीय विद्यार्थी परिषद्ले घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरेको छ ।