
दाङमा दृष्टिविहीन शिक्षिकाद्वारा अक्षयकोष स्थापना
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक विद्यालयकी दृष्टीविहीन शिक्षिका शान्ता शर्माले १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
स्वर्गीय आमाबुबाको स्मृतिमा उहाँले विद्यालयमा ‘जनार्दन–पवित्रा’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । अनाथ तथा टुहुरा बालबालिकाहरूलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । यो रकमबाट आएको ब्याजले अनाथ तथा टुहुरा बालबालिका मध्येबाट १ छात्र र १ छात्रा गरी २ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षिका शर्माको भनाइ छ ।
सानैदेखी गरिब, दुःखीलाई सहयोग गर्ने सोच रहँदै आएकोमा अहिले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर पाउँदा अत्यन्तै उत्साहित भएको उहाँले बताउनुभयो । अक्षयकोष बापतको १ लाख १ हजार रुपैयाँ आज एक कार्यक्रमकाबीच विद्यालयकी प्रधानाध्यापक विष्णु आचार्यलाई हस्तान्तरण गरिएको छ ।
यसअघि विद्यालयमा अन्य विभिन्न व्यक्तिहरूले अक्षयकोष स्थापना गरे पनि कर्मचारीबाट भने यो पहिलो अक्षयकोष भएको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।