ओडिशा घटनाबारे प्रधानमन्त्री : कूटनीतिक पहलबाट सरकारले काम गरिरहेको छ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले नेपाल सरकारले घटनाबारे कूटनीतिक पहल गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको बातउनुभयो । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको पनि बातउनुभयो ।

केआईआईटी विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत तेस्रो वर्षकी नेपाली छात्रा प्रकृति लम्साल हिजो साँझ होस्टेलको आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई भारतीय विद्यार्थीले अश्लील भिडियोमार्फत पटक–पटक ब्ल्याकमेल गरिरहेका थिए।

पीडित छात्राले दुई पटक अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) मा उजुरी दिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको विद्यार्थीहरूले बताएका छन्। न्यायको खोजीमा जाँदा पनि प्रशासनले कुनै सुनुवाइ नगरेको उनीहरुको आवाज दबाउने प्रयास गरेको एक विद्यार्थीले जानकारी दिए।

छात्राको मृत्युपछि विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरू न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । तर प्रशासनले आन्दोलनलाई दमन गर्न प्रहरी परिचालन गर्‍यो। विद्यार्थीहरूले प्रहरीले बल प्रयोग गर्दै तितरबितर पारेको गुनासो गरेका छन्।

एक नेपाली विद्यार्थीका अनुसार विश्वविद्यालयले करिब ७–८ सय नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट बाहिर निकालेको छ। विश्वविद्यालयमा सुरक्षित नभएको प्रशासनले उनीहरुबै विरुद्ध बल प्रयोग गरेको हजारौँ नेपाली विद्यार्थी अलपत्र परेका एक विद्यार्थीले बताएको छ।

विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई गैरजिम्मेवार रूपमा रेल्वे स्टेशनमा पुर्याएर ‘नेपाल फर्किन’ निर्देशन दिएको छ। यस्तो पीडाको घडीमा सुरक्षाको प्रवन्ध गर्नुको साटो उल्टै जबर्जस्ती बाहिर निकालिएको एक छात्राले बताएको छ ।

प्रधानमन्त्री ओलीले घटनालाई गम्भीर रूपमा लिँदै नेपाल सरकार कूटनीतिक तवरबाट अघि बढिरहेको उल्लेख गरे पनि हालसम्म भारतीय पक्षबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन। नेपाली विद्यार्थीहरूले आफूहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।