
फोर नेसन्स कप खेल्न साम्बा स्वदेशमा
काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) फ्रान्सबाट आज स्वदेश आइपुग्नुभएको छ ।
उहाँलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह र टोली व्यावस्थापक विन्द्रा देवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
साम्बा आज सुरु हुने फोर नेसन्सको इन्टरनेसनल उमन्स फुटबल च्याम्पियनसिपको लागि आउनुभएको हो ।
साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहनुभएको छ । उहाँले दर्शकको साथ धेरै रहेको र टिमले यो पटक राम्रो गर्ने दाबी गर्नुभयो । तर आज साम्बाले कीर्गिस्तानससँगको खेल भने नखेल्ने प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभयो ।
यसअघि विदेशी लिग खेलिरहेका कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा र स्ट्राइकर रेखा पौडेल भने नेपाल आइसकेका थिए ।
च्याम्पियनसिपमा जहाँ घरेलु टोली नेपाल सहित लेबनान, किर्गिस्तान र म्यानमरले उपाधिका लागि खेल्दैछन् । राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।