उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः हिमपात भएको छ । यस पटकको हिउँदमा अहिलेसम्मकै धेरै हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो सुक्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो । दुई दिन अगाडि सामान्य हिउँ परेको भए पनि अहिले परेको हिउँ यो यामकै सबैभन्दा ठूलो हिमपात भएको उहाँको भनाइ छ ।

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फको गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ ।

मध्यराति १२ बजेदेखि सुरू भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट झन्डै एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ ।

धेरै हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको छ । तर लामोसमयपछिको हिमपातका कारण अन्नबाली उत्पादन राम्रो हुने भएकाले स्थानीयवासी खुशी भएका छन् । रासस