त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाण्डाै । विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नी यानलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौबाट मलेसिया जान लागेकी यानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा विदेशी मुद्रा फेला परेको हो ।

उनको झोलाबाट १२ हजार ७ सय ४८ अमेरिकी डलर, २ सय ४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रुपिया, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १ सय २२ थान फेला परेको प्रहरीले जनाएको छ ।

अमेरिकी नागरिक यानलाई थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।