जापानले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने : बढ्दो मूल्यलाई रोक्ने प्रयास

एजेन्सी । जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा गर्न लागेको हो ।

आपतकालीन अवस्थाबाहेक जापानले पहिलो पटक आफ्नो चामलको रिजर्भ स्टक प्रयोग गर्न लागेको हो । विशेषगरी आपतकालीन प्रयोगका लागि चामल सुरक्षित राख्ने गरिएको छ ।

विगतमा भूकम्प तथा अन्य आपतकालीन अवस्थामा चामल भण्डारको प्रयोग गर्ने गरिएको थियो । जापानमा केही वर्षयता अत्याधिक गर्मी मौसमले समस्या पारेको र अहिले चामलको माग अत्याधिक भएपछि मूल्य बढेको अवस्था छ ।

अत्याधिक गर्मीको लहरले विश्वका धेरै भागलाई समस्यामा पारेका बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ ।

जापानका कृषिमन्त्री टाकु इटोले सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल निकासा गर्न लागेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।