
नेल्टा अन्तराष्ट्रिय सम्मेलनका लागि रेडियो श्वेत शार्दूल मिडिया पार्टनर नियुक्त
काठमाडौं । नेपाल ईङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसियसन (नेल्टा) को २९ औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि रेडियो श्वेत शार्दूल मिडिया पार्टनर नियुक्त भएको छ ।
सो सम्बन्धमा आज नेल्टाका अध्यक्ष प्रोफेसर डाक्टर लक्ष्मण ज्ञवाली र रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
दुई संस्थावीचको सहकार्यले आगामी फागुन १५, १६ र १७ गते काठमाडौंको लिटिल एन्जेल्स स्कुलमा आयोजना हुने अन्तराष्ट्रिय सम्मेलनको प्रचार प्रसार प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ । उक्त सम्मेलनमा मदन भण्डारी मेमोरियल कलेको सहकार्य रहेको छ ।
सम्मेलनमा नेपाल लगायत बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिंगापुर, मलेसिया, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, रूस, मंगोलिया, श्रीलंका, लगायत २० भन्दा बढी देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरि १ हजार भन्दा बढी सहभागी हुनेछन् ।
सम्मेलन अवधिभरका सबै कार्यक्रमहरूको रेडियो श्वेत शार्दूलले ९३.६ मेगाहर्ज लगायत दुबै संस्थाका सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू मार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।
सन् १९९२ मा एक स्वैच्छिक, गैर–राजनीतिक, गैर–नाफामुखी संस्थाको रूपमा स्थापित नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को २९ औं संस्करणमा नेपाल र अन्तराष्ट्रिय क्षेत्रका भाषा शिक्षक र भाषाविद्हरूले अङ्ग्रेजी भाषा शिक्षणका नवीनतम् उपलब्धिहरु आदानप्रदान गर्ने नेल्टाका अध्यक्ष प्राध्यापक डाक्टर लक्षमण ज्ञवालीले बताउनु भयो ।
नेल्टाले देशका ७७ जिल्लाहरूमध्ये ७ वटा प्रादेशिक समितिहरूसँगै ६० शाखाहरू मार्फत काम गर्दै आएको छ । यस संस्थामा ५ हजार पाँच सय भन्दा बढी आजीवन सदस्यहरू आवद्ध छन् ।
मदन भण्डारी मेमोरियल कलेज, पत्रकारिता तथा आमसञ्चार विभागका सदस्य समेत रहनु भएका रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले राष्ट्रिय-अन्तराष्ट्रिय क्षेत्रमा बृहत सञ्जाल रहेको नेल्टासँग मिडिया पार्टनरका रूपमा सहकार्य गर्नपाउँदा उत्साहित भएको बताउनु भयो ।
आज समझदारी पत्रमा हस्ताक्षर भएसँगै रेडियो श्वेत शार्दूलले सम्मेलनका पूर्वतयारीबारे समेत सूचना सम्प्रेषण गर्ने काम शुरू भएको कार्यकारी प्रमुख लामाले जानकारी दिनुभयो ।
त्यसैगरी, नेल्टाका केन्द्रीय उपाध्यक्ष डाक्टर भीम गौतमले नेल्टा सम्मेलनको २९ औं संस्करणले मेसिन, मानवता र अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरुलाई प्राथमिकता साथ उठाइने विश्वास व्यक्त गर्नुभयो ।
नेल्टाद्वारा आयोजित २९ औं अन्तराष्ट्रिय सम्मेलनमा अङ्ग्रेजी शिक्षा र व्यावहारिक भाषाविज्ञानका विभिन्न विषयवस्तु र क्षेत्रहरूमा १ सय ६० भन्दा बढी प्रस्तुतिहरू हुनेछन् । नेपालका तर्फबाट प्राध्याकहरू तीर्थराज खनिया, जयराज आचार्य, लक्ष्मण ज्ञवाली, गंगाराम गौतम, डा। लव देव अवस्थी, डा। प्रेम प्रसाद पौडेल, मोतिकला सुब्बा देवान लगायतका विभिन्न भाषाविद्हरू मुख्य वक्ताका रूपमा रहने नेल्टा केन्द्रीय उपाध्यक्ष डाक्टर भीम गौतमले जानकारी दिनुभयो ।