
१०० बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटिएम
काठमाण्डौ । रौतहट, वृन्दावन नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ । रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।
उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै काठमाडौँको रातोपुल, झम्सिँखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।
एकीकृत कृषि मोडेल : पोषण र कीट नियन्त्रणमा नयाँ दृष्टिकोण
फ्रेसकेटिए फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्याउन मद्दत गरेको छ ।
स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाई छ । जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन् , न्यौपानेले भने जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।
कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेसकेटिएम फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।
ताजा उत्पादनहरू सबै आफ्नै आउटलेटहरूमा
फ्रेसकेटिएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।
फ्रेसकेटिएमले आउटलेट विस्तार गर्ने
विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्दैछ । नयाँ स्थानहरूमा फ्रेसकेटिएम आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वस्थकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने जनाएको छ ।