![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/pic8_NO43bk5a52.jpg)
बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै १ हजार ४ सय जनाको ज्यान गयो : संयुक्त राष्ट्रसङ्घ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै १ हजार ४ सय जनाको ज्यान गएको जनाएको छ ।
गएको जुलाई १ देखि अगस्ट १५ सम्म ४५ दिनको अवधिमा झन्डै १ हजार ४ सय जना मारिएका राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सङ्ख्या बङ्गलादेशको अन्तरिम सरकारले गरेको अनुमानभन्दा धेरै हो । अन्तरिम सरकारले हसिना विरोधी प्रदर्शनका क्रममा ८ सय ३४ जनाको ज्यान गएको बताएको छ ।
हसिना शासनकालमा मानवताविरुद्धको अपराध, हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू भएका छन् भन्ने विश्वास गर्ने उचित आधार रहेको राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले बताएको छ ।
सरकारले अवामी लिग र बङ्गलादेशी सुरक्षा बलका सदस्यहरूसँग मिलेर सत्तामा रहन आन्दोलनकारी र सर्वसाधारणमाथि व्यापक आक्रमण गरेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।
गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आउनुभएको छ ।