
वार्ता र सहमतिबाटै पाथीभरा केबलकारको विवादबारेमा समाधान खोज्नुपर्छ , गृहमन्त्री लेखक
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा गृहमन्त्री लेखकले आपसी सहमतिबाटै समस्या समाधान गर्न सकिने भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताउनुभएको थियो ।
यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि हिजो बेलुका गृहमन्त्रीसँग भेटघाट र छलफल भएको हो ।
भेटमा एमालेका नेता योगेश भट्टराईसहित आदिवासी जनजातिका नेताहरूको सहभागिता रहेको थियो । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग भएको छ ।
वार्ता र सहमतिबाटै निकास निकाल्न मन्त्री लेखकले आग्रह गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका छन् ।
उनीहरुले थप आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता र संवाद निष्कर्षविहीन भएपछि ताप्लेजुङ्गको फुङलिङ नगरपालिकासहित सरोकारवालाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा अगाडी बढ्न आग्रह गरेका छन् ।