काठमाण्डौको फर्पिङ र सुर्खेतमा बस दुर्घटना, दुई जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा हिजो भएको स्कुल बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ३९ जना घाइते भएका छन् ।

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा चालक र एक आठ वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैबीच सुर्खेतबाट भारतको प्रयागराज महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उहाँहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।