
चीनियाँ नयाँ वर्षमा मैत्रीपूर्ण खेल हुने
काठमाण्डौ । चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा फागुन ३ गते मैत्रीपूर्ण खेल हुने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
प्रमुख प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्। नेपाली टोलीमा यु-२० टिमका खेलाडी रहनेछन्।
यो पटक चीनको गत वर्ष भन्दा बलियो टोली रहेको जनाएको छ। युनान प्रदेशबाट खेलाडी छनोट गरेर टोली तयार पारिएको चीनीयाँ दूतावासका डिसिएम वाङ् जिनले बताउनुभयो। ३७ सदस्यीय टोली नेपाल आउनेछ।
चीनको दूतावासले प्रमुख प्रायोजकको रुपमा डोङ फेङ नामी इभी मोटर्ससँग सम्झौता गरेको र यो खेलका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बलसँग सहकार्य गरिएको पनि वाङ् जिनले जानकारी दिए। फुटबल खेलसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि हुनेछ।
त्यो खेलका लागि प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहनेछ। मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सास्कृतिक कार्यक्रमको जिम्मेवारी चीनियाँ दूतावासको रहने जानकारी दिइएको छ।
मैत्रीपूर्ण खेलको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ रहेको छ। दूतावासले एन्फालाई टोलीको तयारीका लागि २३ लाख उपलब्ध गराउनेछ। दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो। गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो।