
नेपाल आफूले नगरेको अपराधको सजाँय भोगिरहेको छ : सभामुख घिमिरे
काठमाण्डौ । प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनका कारण नेपालले नगरेको अपराधको सजाँय भोग्नु परेको बताउनुभएको छ । उहाँले विश्वका विभिन्न देशले उत्पादन गरेको कार्वन उत्सर्जनको असर नेपालको जलवायु परिवर्तनमा असर परेको बताउनुभएको छ ।
नेपालमा कृषि, वन तथा भू-उपयोग क्षेत्रका चुनौतीहरू र अवसरहरूको उपयोगलाई सम्बोधन गर्दै नेपालमा पुनर्जन्मशील बागवानी मूल्य शृङ्खलालाई सुदृढ पार्नका लागि आयोजित कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सो कुरा बताउनुभएको हो । कोकाकोला फाउण्डेसन,साहारा नेपाल र बाराह एजीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले पृथ्वीको बढ्दो तापक्रमले नेपालको सुन्दर हिमश्रृंखलाको हिंउ पग्लिएर काला पत्थर भइसकेको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले जलवायु परिवर्तनले गर्दा कतिपय ठाउँमा पानीका मुहान सुकेका र खानेपानीकै अभावमा मानिसहरुले थातथलो छाड्नु परेको उल्लेख गर्नुभयो । चिसोमा मात्र बाँच्न सक्ने जनावारहरु लोप हुने चरणमा पुगेका छन् ,उच्च हिमाली क्षेत्रमा फास्टाउने बनस्पतिले आवश्यक मात्रामा चिसो हावा पाउन छाडेका छन्,यसले समग्र पारिस्थितिक प्रणाली माथी नै धावा बोलिरहेको महसुष भएको घिमिरेले बातउनुभयो ।
सहारा नेपालले कोकाकोला फउण्डेसनको आर्थिक सहयोग तथा बराह क्लाईमेट एजि।को सहकार्यमा नेपालको कृषि क्षेत्रलाई प्रवर्दन गर्नको लागि बिभिन्न पहल कदमीहरुको शुरुवात गरेकोमा घिमिरेले प्रशंसा गर्नुभयो । नेपालले जलवायु परिवर्तन,भुक्षयीकरण, बाढी पहिरो र माटोको घट्दो उत्पादकत्वको चुनौतीको सामना गर्नु परिरहेको दृष्टान्त दिंदै घिमिरेले यी चुनौतीहरुलाई सम्बोधन गर्न हरित अर्थतन्त्रलाई बढावा दिनको लागि कृषि क्षेत्र संग सम्बन्धित रैथाने बाली तथा बोट बिरुववाको सरक्षण र संम्बर्धनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । नेपालको कोशी, मधेस, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका १३ वटा जिल्लाहरुका खाली रहेका जमीनहरुमा बृक्षारोपण गरेर थोरै भए पनि वातावरण सुधारको प्रयास गरेकोमा सरोकारवालाहरुलाई सभामुखले धन्यवाद पनि दिनुभएको छ ।
कोकाकोला फाउण्डेसनकी उपाध्यक्ष देवियानी राज्यलक्ष्मी राणाले कोकाकोला फाउण्डेसनको सानो लगानीले नेपालको वातावरणीय र जिविकाको क्षेत्रमा सानो भए पनि सहयोग हुने अपेक्षा आफूले लिएको बताउनुभयो । अघिल्ला वर्षमा ११ वटा जिल्लामा फलफूलका करिब अढाइ लाख विरुवा रोपिएकोमा यस वर्ष कार्यक्षेत्र विस्तार गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक,वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायतको उपस्थिती थियो । कार्यक्रममा साहारा नेपालका सदस्य सचिव महेन्द्र गीरीले नेपालमा जलवायु परिवर्तन र यसले निम्त्याएका तत्कालिन र दिर्घकालिन असर निराकरणका लागि साहारा नेपालले प्रयास गरिरहेको बताउनुभयो ।
साहारा नेपालका कार्यकारी निर्देशक युवराज शिवाकोटीले स्टे्रन्थेन रिजेनेरेटिभ हर्टिकल्चर भेल्यु चेन इन नेपाल विषयमा एक प्रष्तुति राख्नु भएको थियो ।यसैगरी साहारा नेपालले वृक्षारोपणका लागि विरुवा उपलब्ध गराएका कारण आफूहरुले खाली जमिनलाई सदुपयोग गर्न पाएको र भविष्यमा अझै यस प्रकारको सुविधा पाउनेमा आशावादी रहेको दुईजना किसानहरुले प्रतिक्रिया दिएका छन् । यसैगरी खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले आफ्नो नगरपालिकाले बाँस महोत्सव गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रम साहार नेपालका अध्यक्ष भरत गीरीको अध्यक्षतामा भएको थियो ।