सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आज पनि संसदमा प्रस्तुत नहुने

काठमाण्डौ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको आजको बैठकमा पनि अध्यादेश प्रस्तुत नहुने भएको छ । सरकारले प्रतिनिधिसभामा टेबुल गरेका छ वटा अध्यादेश आजको कार्यसूचीमा पनि नपरेका हुन् । यसअघि गएको माघ २४ गते राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइएको थियो ।

अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन् । ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरे पनि पछिल्ला बैठकमा अध्यादेश कार्यसूचीमै पर्न छाडेका हुन् ।

संघीय संसदका दुवै सदनबाट स्वीकार नभए अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभामा सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा भने जसपा नेपालको साथ चाहिन्छ । कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारलाई समर्थन गरिरहेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशमा विमति जनाइरहेको छ । जनता समाजवादी पार्टी, नेपालले अध्यादेशलाई समर्थन गर्ने वा नगर्ने निर्णय गरिनसकेकोले सरकारले अध्यादेशलाई कार्यसूचीमा नराखेको हो ।

अध्यादेशलाई स्थायी कानुन बनाउन अध्यादेश पेश भएको ६० दिनभित्र सदनबाट प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने भएका कारण सरकारलाई समयको दबाव बढ्दै गएको छ । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा १ बजेका लागि बोलाइएको छ ।