‘भ्यालेन्टाइन डे’को अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने

काठमाण्डौ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको पर्यटकीय क्षेत्र सौराहामा खाना महोत्सव हुने भएको छ ।

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २९ देखि फागुन ३ गतेसम्म १९औं संस्करणको महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवर्द्धनका साथै खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्सव गर्न लागिएको रेवान चितवनका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।

कार्यक्रम अवधिभर झण्डै तीन करोड रुपैयाँको कारोबार हुने आयोजकले जनाएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा खाना महोत्सव हुँदै आएको छ । महोत्सव अवधिभर सौराहाका व्यवसायीले आवास र खानामा १० प्रतिशत छुट सुविधासमेत सार्वजनिक गरेका छन् ।