यूएसएआईडीको संरचना भङ्ग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा अदालतको अस्थायी रोक

अमेरिकी एक सङ्घीय अदालतले यूएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा अस्थायी रोक लगाएको छ । अदालतले योजना रोक्न अस्थायी आदेश दिएको बीबीसीले जनाएको छ ।

न्यायाधीशले आदेशमार्फत् दुई हजार दुई सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयास गरेका छन् । यूएसएआईडीमा झण्डै १० हजार व्यक्ति कार्यरत रहेको अनुमान छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् ।

ट्रम्प प्रशासनले अस्ति बिहीवार अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको हो । लगत्तै सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति ट्रम्पलाई कङ्ग्रेसको कानूनमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा यस्तो कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए ।