
२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरामा भ्रमण वर्ष घोषणाको तयारी
कास्की । पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
पोखरा भ्रमण वर्ष सन् २०२५ को औपचारिक घोषणा समारोह आउँदो फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको हो ।
घोषणा समारोहको तयारीका लागि मेयर धनराज आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।
यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, चारवटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।
महानगरका मेयर धनराज आचार्यले भव्यरूपमा पोखरा भ्रमण वर्ष घोषणाको तयारीका लागि जुटेको बताउनुभयो । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतसमेतको सहभागिता रहने उहाँको भनाइ छ ।
वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाबाट स्थानीय भेषभुषासहित वृहत झाँकी र्याली निकालिने छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा भ्रमण वर्षले पर्यटनको क्षेत्रमा राम्रो हुने बताउदै त्यसलाई सफल बनाउनका लागि पर्यटनसँगसम्बद्ध सङ्घ संस्थाले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।