![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-21.32.05.jpeg)
गुण्स्तर प्रत्यायनकृत सामूदायिक कलेजका अवसर र चुनौति विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
सुप्रिया राई
काठमाण्डौ, माघ २५ । मदन भण्डारी मेमोरियल कलेजले गुण्स्तर प्रत्यायनकृत सामूदायिक कलेजका अवसर र चुनौति विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार कलेजको आफ्नै नव निर्मित अत्याधुनिक अडिटोरियम हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
औपचारिक र अनौपचारिक गरि दुई खण्डमा सञ्चालीत उक्त कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले द्वीप प्रज्वलन गरी गर्नुभएको थियो । सामूदायिक कलेजकारुपमा स्थापित मदन भण्डारी कलेजले विश्वविद्यालय अनुदान आयोग (यूजिसि)बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्तिको उहाँले प्रशंसासमेत गर्नुभयो । शैक्षिक जगतमा हाँसिल गरेको यस सफलतालाई उहाँले भावी दिनमा अघि बढाउँदै लैजान जरुरी रहेको बताउनुभयो ।
मन्त्री भट्टराईले शिक्षामा देखिने नितिगत अस्पष्टतालाई स्पष्ट बनाउने सन्दर्भमा आफू प्रतिवद्ध रहेको तथा शिक्षामा देखिएका चुनौतिहरु समाधान गर्न मन्त्रालयले हर सम्भव प्रयास गर्ने प्रष्ट पार्नुभयो । उहाँले शिक्षालाई गुणात्मकताले नभएर गुणस्तरीयताले मापन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता एवम् जनमैत्री बहुमूखी क्याम्पसका प्रमुख भोलानाथ ओझाले शिक्षामा गरेको लगानी के हो ? र कस्का लागि गरेको हो ? त्यो बुझ्नुपर्ने बताउनुभयो । विद्यार्थीहरुलाई आफू अध्ययनरत संस्थाको परिचय सहि तरिकाले थाहा भएमात्रै नतिजाउन्मूख हुने उहाँको धारणा छ । सामूदायिक कलेजले क्यूएए प्राप्ति पश्चात पनि धेरै शैक्षिक कार्यक्रमहरु चलाउन नपाएको र आफ्नै स्वायत्त विषय संचालन गर्न समस्या भोग्नुपरेको अवस्थाको पनि उहाँले उजागर गर्नुभयो ।
अर्का प्रमुख वक्ता एवम क्यूएए निर्देशक रेजिना मास्केले मदन भण्डारी मेमोरियल कलेजले गुण्स्तर प्रत्यायनकृत हुन ८ वटा विधामा १२० वटा इन्डिकेटरमा रहि यूजिसिबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको बताउनुभयो । क्यूएए पाउने प्रक्रिया सजिलो नभएको तर कलेजले दृढता र निरन्तर सुधार गर्ने प्रतिवद्धताकासाथ काम गरेको उहाँले उल्लेख गर्नुभयो । अब दोस्रो चरणको कार्यस्वरुप कलेजले धेरैभन्दा धेरै काम कसरी गर्न सकिन्छ , संसारले खोजेको र विद्यार्थीले रोजेको शिक्षा कसरी विकास गर्न सकिन्छ भनेर थालनी गर्नुपर्ने उहाँको सुझाव छ ।
सामूदायिक कलेजहरुले बजारमूखी र सीपमूलक शिक्षा प्रदान गरेमात्रै वर्तमान परिस्थितिमा समय सान्दर्भिक शिक्षा तथा विद्यार्थी उत्पादन हुने क्यूएए निर्देशक रेजिना मास्केको धारणा छ । यसोगरेमा कलेजले विभिन्न अवसर सिर्जना गर्न सफल हुने क्यूएए निर्देशक मास्केले बताउनुभयो ।
सो अवसरमा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले मदन भण्डारी कलेजलाई विशिष्ट कलेजकारुपमा स्थापित गर्ने लक्ष्य रहेको धारणा व्यक्त गर्नुभयो । वि.सं २०७२ सालमा कलेजले क्यूएए प्राप्तिको लागि गरेको पहिलो प्रयास झण्डै १० बर्षको अन्तरालमा आफ्नो कार्यकालमा निरन्तर प्रयासपछि सफल भएकाले यो ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ छ । यसबीचमा कलेजले विभिन्न आरोह अवरोहरुको साक्षी हुँदै समाजमा परिकल्पना गरेको सार्थक, सबैको लागि पहुँचयोग्य र विविधायुक्त शिक्षा प्रदान गर्ने संकल्प साकार बनाउन निरन्तर प्रयासरत रहने क्याम्पस प्रमुख डा.अधिकारीले प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै, कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामशरण प्याकुरेलले कलेजले हाँसिल गरेको उपलब्धिले विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले साझा प्रयत्नको प्रतिफलस्वरुप क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा कलेजको अबको यात्रा भनेको पारदर्शी, समयसापेक्षीत र उत्कृष्ट शिक्षा प्रदान गर्नेमा हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । क्यूएए प्राप्तिपछि कलेजलाई नयाँ उचाइ हाँसिल भएको कार्यवाहक अध्यक्ष प्याकुरेलको दाबी छ ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय तारा प्रसाद गौतम (प्रशासनीक) तथा प्रज्वल मान श्रेष्ठ (शैक्षिक), मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपाने, विभिन्न संकायका विभागीय प्रमुखलगायत, अन्य पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमको अन्तमा सहभागी विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन, कविता, तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै मनोरञ्जन प्रदानसमेत गरेका थिए ।